ICSI कसको लागि आवश्यक?

2020-08-07 1704

Who-needs-ICSI

हरेक महिला/पुरुष ले जीवनको एक कालखण्डमा सन्तानको इच्छा राख्छ । कसैको लागि यो एकदमै सहज हुन्छ त कसैको लागि विभिन्न कारणवश निकै तनावपूर्ण / कष्टकर। करिब १/८ दम्पतिहरुमा सन्तान प्राप्तिको  समस्या देखिन सक्छ । हाम्रो खानपान, जीवनशैली, विभिन्न रोग, प्रजनन् अंगको बनोट, उमेर, तौल, हर्मोनको गडबडी  जस्ता विभिन्न कारणहरुले यस्ता समस्या आउने गर्छ ।

विगतमा हाम्रो समाजमा सन्तान प्राप्ति नहुनु भनेको श्राप मानिन्थ्यो  र प्राय महिलाहरु बढी प्रताडित हुन्थे तर चेतनाको विकाससंगै विस्तारै यस्तो धारणा बदलिँदै छ र मानिसहरु प्रजनन् सम्बन्धि विभिन्न समस्या निराकरणका लागि अस्पताल पुग्न थालेका छन् । IUI, IVF, ICSI, Fertility Freezing, Donor Treatment, PGD, PGS जस्ता विभिन्न विधिका कारण हिजो असम्भव ठानिएका अवस्थामा सन्तान प्राप्ति सम्भव भएको छ र मानिसहरुलाई प्रगतिशील हुन सन्देश पुगेको छ ।

IVF र ICSI भनेका के हुन्?

IVF लाई सामान्य रुपमा महिला बाट प्राप्त अण्डा र पुरुषबाट प्राप्त शुक्रकिटलाई मानव शरीर भन्दा बाहिर मेल गराई भ्रूण बनाउने र पछि पुन: पाठेघरमा हाल्ने विधिको रुपमा बुझ्न सकिन्छ । प्राकृतिक रुपमा महिलाको अण्डा र पुरुषको शुक्रकिटको मेल महिलाको गर्भनलिमा हुन्छ जहाँ एउटा शुक्रकिटको टाउको अण्डाको सतहमा टाँसिन्छ र विस्तारै शुक्रकिट भित्र प्रवेश गर्दै भ्रूणमा परिणत हुन थाल्छ ।

विधिवत/सामान्य IVF प्रकृयामा पनि महिलाको डिम्ब र पुरुषका लाखौं शुक्रकिटलाई पेट्री डीसमा राखिन्छ जसका कारण उनीहरुको मेल हुन्छ र भ्रूण बन्न शुरु हुन्छ । विभिन्न कारणवश डिम्ब र शुक्रकिटको मेल हुन नसकेको अवस्थामा यो विधि लाभकारी हुन्छ ।

कहिलेकाहिँ महिलाको डिम्बसँग शुक्रकिट टाँसिएपनि त्यो भित्रसम्म जान सक्दैन र भ्रूण बन्न सक्दैन । यस्तो अवस्थामा एउटा स्वस्थ शुक्रकिटको चयन गरी सिधा  cytoplasm को सतहमा हालिन्छ जसले भ्रूण बन्ने सम्भावना अधिक बनाउँछ । यस्तो विधिलाई Intracytoplasmic Sperm Injection (ICSI) भनिन्छ ।

ICSI को आवश्यकता कहिले पर्छ?

ICSI को प्रयोग सामान्यतया पुरुष सम्बन्धि समस्या (oligospermia, teratozoospermia, asthenozoospermia) मा गरिन्छ तर यो यतिमै सिमित भने छैन । निम्न अवस्थामा भए यसको प्रयोग गर्ने गरिन्छ ।

  • पुरुषको वीर्यमा शुक्रकिटको संख्या न्यून भएमा । [IUI/IVF विधि असफल हुन सक्छ]
  • वीर्यको चाल सामान्य नभएमा
  • वीर्य डिम्बसँग टाँसिन वा भित्र प्रवेश गर्न नसकेमा
  • पुरुषले वीर्य स्खलन गर्न नसकेमा /  पुरुषको वीर्य सिरिन्जले निकाल्नु पर्ने भएमा
  • वीर्यको अवस्था जस्तोसुकै भएपनि सामान्य IVF विधिबाट निषेचन हुन नसकेमा
  • फ्रिज गरेर राखेको डिम्बको प्रयोग गर्नु पर्ने भएमा
  • बढी उमेर भएको महिलाको डिम्ब भएमा
  • PGD को कतिपय अवस्थामा
  • महिलाको डिम्ब परिप्वक्क नहुँदै झिकेर, बाहिरै परिप्वक्क बनाइएको भएमा
  • सफलता दर बढाउने उद्देश्यका साथ कतिपय क्लिनिकमा तल दिइएका अवस्थामा पनि ICSI गर्ने गरिन्छ तर यसले कति प्रभाव पार्छ/पार्दैन भन्नु अध्ययनकै विषय रहेको छ ।
  • महिलाबाट प्राप्त परिप्वक्क डिम्बको संख्या कम भएमा स्वास्थ्यकर्मीहरु कुनै जोखिम लिन चाहँदैनन्
  • प्रजनन् सम्बन्धि कुनै मूल कारण पत्ता नलागेको अवस्थामा

यसबाहेक कतिपय क्लिनिकमा सम्पूर्ण IVF प्रक्रियामा ICSI प्रयोग गरिन्छ जुन खासै युक्तिसंगत छैन । एक अध्ययन अनुसार यसो गर्दा ३३ केस मध्ये १ केसमा मात्र लाभ हुने गर्छ ।

ICSI कति प्रभावकारी छ?

ICSI विधिबाट ५०-८० प्रतिशत डिम्बहरु निषेचित हुन्छन् तर कतिपय अवस्थामा ICSI गर्दा वा ICSI गरिसकेपछि यस्ता समस्या आउन सक्छ।

  • कतिपय डिम्बहरु नष्ट हुन सक्छन् ।
  • शुक्रकिट हालिएपनि डिम्ब निषेचित नहुन सक्छ र भ्रूण नबन्न सक्छ
  • भ्रूणको विकास रोकिन सक्छ

एकपटक निषेचन भइसकेपछि एक सन्तान / जुम्ल्याहा / तिम्ल्याहा जन्माउन सक्ने  सम्भावना सामान्य IVF र ICSI+IVF मा समान हुन्छ ।

ICSI कति प्रभावकारी / सुरक्षित छ?

ICSI पुरुष सम्बन्धि समस्यामा निकै प्रभावकारी मानिएको छ । यसले सफलता दर उच्च राख्न मद्दत गर्छ । यस विधिबाट जन्मिएका बच्चामा पनि कुनै खास विकार देखिंदैन । प्राकृतिक रुपमा गर्भधारण गर्दा १.५ % देखि ३% विकार हुन सक्ने सम्भावना देखिंदा IVF/ICSI बाट जन्मिएका बच्चामा १% जति बढी विकार देखिन सक्छ तर यो IVF/ICSI प्रकृयाले गर्दा भएको भने अवश्य होइन । दम्पतिमा देखिएका बाझोपनका अवस्थाका कारण सन्तानमा त्यसको असर देखिन सक्ने मात्र हो ।

 

थप जानकारी वा सल्लाह सुझावको लागि तल कमेन्ट गर्न सक्नुहुन्छ वा वात्सल्यमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

Get our Articles Right in your Inbox every week.

* indicates required