प्रजनन् उपचार र गर्भधारण अहिले कति उपयुक्त?

2020-07-09 849

When-to-get-pregnant

सन्तान प्राप्ति सबैको चाहना हुन्छ, चाहे त्यो करले होस् वा रहरले । ती साना-साना पाइला, तोतेबोली, मुस्कान, साना-साना कुराको रोदन कसलाई पो प्यारो लाग्दैन । तिनीहरुसँग एकैछिन कुरा गर्दा पनि दिनभरीको थकान हराएर गएको महसुस हुन्छ । फरक यति मात्र हो, कोहि चाँडै सन्तान पाउन खोज्छन् त कोहि आफू सबल भएपछि मात्र सन्तान पाउने पक्षमा उभिन्छन् ।

सन्तान कहिले पाउने सबैको आफ्नो व्यतिगत निर्णय हो र हुनुपनि पर्छ, खासगरी हाम्रो जस्तो मुलुकमा जहाँ नवजात शिशुको भविष्य पूर्ण रुपमा बुवाआमामा निहित हुन्छ – राज्यको भूमिका (शिक्षा, सुरक्षा, बालवृद्धि वा अन्य रुपमा) सिमित वा नगण्य देखिन्छ  तर यसो भन्दैमा स्वास्थ्य सम्बन्धि तथ्यको हेक्का नै नराख्ने प्रवृति कुनै रुपमा सराहनीय हुन सक्दैन ।

सन्तान कहिले प्राप्त गर्ने ?

सन्तान प्राप्ति को समय कुनै एउटा कुराले निर्धारण गर्न नसकिने भएको कारणले धेरै कुरामा विचार गर्नुपर्ने हुन सक्छ । जस्तै :

  • के हामी आर्थिक र मानसिक रुपमा तयार छौँ ?
  • प्रजनन्  सम्बन्धि कुनै असामान्यता त छैन ?
  • उमेरका हिसाबले कति समय कुर्न सकिन्छ ?
  • कामको वातावरण, जीवनशैली, खानपान वा कुनै रोगले प्रजनन् मा असर पुर्याइरहेको त छैन ?

यस्ता थुप्रै कुराहरुलाई ध्यानमा राख्दै सही समय निर्धारण गर्न सकिन्छ। केहि विकसित मुलुकमा सन्तान प्राप्तिको प्रयास शुरु गर्दा विज्ञको परामर्श लिने प्रचलन भएपनि हाम्रो देशमा यस्तो परिपाटी छैन । कुनै जटिलता आए मात्र हामी स्वास्थ्य परामर्श लिन पुग्छौँ । हाल केहि दशक यता गर्भवती महिलाहरु समय-समयमा चेक-जाँच गराउने गरेको र अधिकांश डेलिभरि अस्पतालमै हुने गरेको पाटो भने उल्लेखनीय छ ।

उचित समयमा स्वास्थ्य परामर्श लिँदा कति गर्भवती महिला जटिलता बाट जोगिन सकेका छन्  भने बाँझोपन र यससम्बन्धि फैलिएका मिथ्या कुराहरुबाट प्रताडित हुने र कति अवस्थामा ज्यानै गुमाउने अवस्था सम्म पुगेका महिला पनि लाभान्वित भएका छन् ।

किन हुन्छ बाँझोपन ?

  • बाँझोपन पुरुष वा महिलाको  प्रजनन् अंग वा यस सँग सम्बन्धित ग्रन्थीहरुमा असामन्यता देखिएमा  हुन सक्छ । जस्तै :
  • महिलाको गर्भनली बन्द छ
  • डिम्बाशयमा डिम्बको संख्या कम छ
  • शरीरले उत्पादन गर्ने हर्मोन, जस्तै TSH, FSH, LH, AMH, Prolactin आदिको मात्रा सन्तुलित छैन
  • PCOS / Miscarriage को समस्या छ
  • भित्री अङ्गको बनोटमा असामन्यता छ
  • शुक्रकिट सम्बन्धि समस्या छ

वा यस्तै अन्य पहिचानमा आउन नसकेका थुप्रै समस्याका कारण सन्तान प्राप्तिमा अफ्ठ्यारो परिरहेको हुन सक्छ । त्यसैले नि:सन्तान हुनुमा महिला वा पुरुष वा दुवै वा अज्ञात कारण देखा पर्न सक्छ । यसको उचित जाँच भए मात्र सही उपचारबाट सन्तान प्राप्ति सम्भव हुन्छ ।

सन्तान प्राप्तिमा अफ्ठ्यारा खेप्दै गरेका कतिपय महिला सन्तान प्राप्ति कसरी गर्ने, कस्ता-कस्ता कुरा खाने भन्ने कुरामै बढी केन्द्रित भएको देख्न सक्छौँ  । यसले केहि अवस्थामा फाइदा पुर्याउन सक्ला तर कारण थाहा नपाई विभिन्न प्रयोग गर्नु घातक हुन सक्छ । समय बितेपछि अन्य जटिलता थपिन सक्छ ।

अस्पताल कहिले जाने ?

  • २५ वर्ष भन्दा कम उमेर भए २ वर्ष सम्मको सन्तान प्राप्तिको प्रयास असफल भएमा
  • सो भन्दा माथिको उमेरको हकमा ६ महिना सम्मको प्रयास असफल भएमा

हामीले आफ्नो खानपान, जीवनशैली, मानसिक र शाररिक स्वस्थतामा ध्यान पुर्याए धेरै हदसम्म यस्ता समस्याबाट जोगिन सक्छौँ तर कति पय अवस्था हाम्रो नियन्त्रणमा हुन्न त्यसैले स्वास्थ्य संस्था जानुपरे पनि कुनै किसिमको हिनताबोध गर्नु हुन्न । महिला र पुरुष दुवै जनाले आफ्नो जाँच गराउनुपर्छ ।

अहिलेको अवस्थामा प्रजनन् जाँच कति उचित छ ?

कोभिड-१९ ले गर्दा विश्व नै आक्रान्त बनेको छ तर हेर्ने हो भने सबै मुलुक सामान्य जीवनशैलीमा फर्किंदै छन् । भाइरस को प्रभाव रहिरहँदा पनि यो किन सम्भव भएको हो त ? यसको एक मात्र कारण, हामी यसविरुद्ध धेरै हदसम्म सजग हुनु हो । सुरुवातमा यसबारे धेरै जानकारी नभएको कारण र सङ्क्रमणको  दर तीव्र भएको कारण केहि भन्न सकिने अवस्था थिएन । तर अब हामीले केहि हदसम्म यसलाई बुझेका छौं र सबै तिर सुरक्षाको मापदण्ड तयार परेर काम सुचारु गरिएको छ । तयसैले यसको खतरा कम छ । सजग भए यसबाट सजिलै बच्न सकिन्छ । यहि कुरालाई मनन् गर्दै विश्वभर रोकिएको प्रजनन् उपचार पुन: सुचारु भएका हुन् ।

लकडाउन का बेला विभिन्न परामर्शद्वारा आफ्नो शरीरलाई बुझ्ने प्रयास गर्नुभएको छ र स्वस्थ रहन खानपिन तथा व्यायाममा ध्यान दिनुभएको छ भने अहिले प्रजनन् उपचारद्वारा गर्भधारण उचित हुन सक्छ । यदि अझै अन्यौलमा हुनुहुन्छ भने परामर्श र पुर्व जाँच प्रारम्भ गर्न सक्नुहुन्छ ।

उमेर रहँदै प्रजनन् उपचार गराए भ्रूणको गुणस्तर पनि राम्रो हुने र कयौं स्वास्थ्य जटिलता पनि कम हुने भएका कारण पनि यदि तपाइँ सन्तान प्राप्तिको सोचमा हुनुहुन्छ र माथिका कुरा मनन गर्दा आफू तयार रहेको महसुस गर्नुभएको छ भने स्वास्थ्य कर्मीको सल्लाह लिंदै गर्भधारण र सन्तान प्राप्तिको यात्रा प्रारम्भ गर्न सक्नुहुन्छ ।

Get our Articles Right in your Inbox every week.

* indicates required