IUI सफलता का लागि केहि महत्वपूर्ण जानकारी:

2020-09-18 771

tips-for-iui-success

सन्तान प्राप्ति जीवनको एक महत्वपूर्ण क्षण हो तर यो सबैको लागि सहज हुँदैन । हरेक ८ मध्ये १ दम्पतिले विभिन्न कारणहरुले गर्दा औषधि/उपचारको सहयोग (Assisted Reproductive Technology) लिनुपर्ने हुन्छ । यसरी उपचारको सहयोग लिनुपर्ने भएमा सफलता कसरी पाउने भनी चासो हुनु स्वाभाविक हो ।

औषधि/उपचारका विभिन्न विधि मध्ये IUI विधि अधिक प्रयोग भएको देखिन्छ । कम खर्च लाग्ने र सजिलो भएर पनि यसको छनोट बढी हुने तर्क विभिन्न चिकित्सकहरुले दिएका छन् । IUI विधि चयन गर्नु अघि यो कसको लागि उपयुक्त छ भनी जान्नु जरुरी हुन्छ । निम्न अवस्थामा IUI प्रयोग गर्न सकिन्छ ।

  • ग्रिवामा हुने  खकार जस्तो देखिने तरल पदार्थ (cervical mucus) असामान्य भए
  • पुरुषको वीर्यमा केहि समस्या भए
  • वीर्य स्खलन सम्बन्धि समस्या भए
  • डोनर बाट वीर्य प्राप्त गरी गर्भधारण गर्नुपर्ने भए

उमेर बढी भए वा गर्भनली बन्द भएमा भने यो विधि प्रयोग गर्नु उचित हुँदैन । यस विधिमा राम्रो शुक्रकिटको चयन गरेर सिधा गर्भाशयमा हालिने भएकोले गर्भधारणको सम्भवना बढी हुन्छ तर प्राकृतिक गर्भाधारणमा भए जस्तै शुक्रकिट डिम्बलाई भेट्न गर्भनलि तिर तैरिनु पर्ने हुन्छ र डिम्ब सँग निषेचन (fertilization) पनि गर्नुपर्ने हुन्छ । निषेचित डिम्ब पाठेघरमा आएर राम्ररी टाँसिनुपर्ने पनि हुन्छ । यी सबै कारणले गर्दा पनि IUI को सफलता दर १०-३०% मात्र छ ।

IUI सफल बनाउन के गर्ने?

१. उचित स्वास्थ्य संस्थाको चयन

हरेको महिलाको शारीरिक अवस्था भिन्न हुन्छ। प्रक्रिया कहिले शुरु गर्ने, थप औषधि कहिले शुरु गर्ने /बन्द गर्ने, डिम्बको विकास कस्तो छ, जुम्ल्याहा-तिम्ल्याहाको संभावना छ/छैन जस्ता विभिन्न कुराहरु ध्यान दिनुपर्ने हुन्छ । यसका लागि उचित विशेषज्ञको जरुरी हुन्छ ।

क्लिनिकको सफलता दर, उपचार विधि/प्रविधि, तपाइँ अनुकुलको सुविधा जस्ता विभिन्न कुरालाई ध्यानमा राख्दै उचित स्वास्थ्य संस्थाको चयन गर्नुहोस् ।

२. स्वस्थ खानेकुराको सेवन

हामीले सेवन गर्ने खानेकुराले हाम्रो प्रजनन् स्वास्थ्यमा सिधा असर पारिरहेको हुन्छ त्यसैले उचित प्रकारको खानामा जोड दिनुहोस् । तल केहि सुझावहरु दिइएका छन् ।

  • थोरै खानुहोस् तर धेरै पटक खानुहोस्
    यसो गर्नाले पाचनमा सहयोग मिल्छ । तपाइँले सेवन गरिरहनुभएको Progesterone Tablet ले पाचन शक्तिलाई कम्जोर बनाएको हुन्छ ।
  • फाइबरयुक्त खाने कुरा तथा पर्याप्त पानीको सेवन
    खाना फाइबरयुक्त भए यसले कब्जियत हुनबाट बचाउँछ । त्यस्तै दिनको २-३ लिटर पानी  पिउनाले मूत्रनलीको संक्रमण बाट बचाउँछ ।
  • Folic Acid भएका खानेकुरा
    फोलिक एसिड भएका खानेकुराहरु जस्तै मटर, सिमि, च्याउ, साग, टुसा उम्रेको गेडागुडी, यस्तै फलमा पनि अम्लीय गुण भएका फल खानुहोस् ।
  • Vitamins
    Vitamin A, B, C, D, K – यी सबैमा एन्टीअक्सिडेन्ट हुन्छ जसले शरीरको free-radicals लाई हटाउँछ र गर्भधारणको सम्भावन बढाउँछ । यसका लागि हरियो सागसब्जी र फलफूल खानुहोस् ।
  • प्रोटिन
    प्रोटिन दूध र दुग्धजन्य पदार्थमा पाइन्छ। यसबाहेक मासु र दालको सेवन पनि गर्न सक्नुहुन्छ ।
  • ड्राई फ्रुट्स
    Almonds, Pistachio, Blackseed, kaaju, Pumpkin Seeds आदिको सेवन गर्नुहोस् ।

क्यानमा राखिएको वा फ्रिजमा धेरै दिन राखिएको खानेकुरा भने नखानुहोस् । काँचो मासु वा अण्डाको पनि सेवन नगर्नुहोस् । बाहिरको खानेकुरा जस्तै पिज्जा, बर्गर, पानीपुरी, चट्पटे आदि पनि नखानुहोस् ।

३. मद्यपान/धुम्रपानबाट बच्नुहोस्

मद्यपान तथा धुम्रपानले गर्भाधारण हुने सम्भावना घटाउँछ ।

४. तनावबाट बच्नुहोस्

तनावले प्रजनन् मा नराम्रो असर पुर्याइरहेको हुन्छ । यसका लागि योग, ध्यान, अकुपन्क्चर जस्ता विधिको सहयोग लिन सकिन्छ ।

५. व्यायाम शुरु गर्नुहोस्

IUI पछि पूर्ण आराम भन्दा पनि हल्का व्यायाम गर्नु उचित हुन्छ । भारी व्यायाम भने गर्नु हुँदैन ।

६. यौन सम्पर्क

IUI पछिको यौन सम्पर्कले सफलताको सम्भावाना बढाउँछ भन्ने आम बुझाई छ । कतिपय जानकार यौन सम्पर्क पछि पाठेघर खुम्चिन्छ जसले शुक्रकिटलाई गर्भनलि तिर धकेल्छ जसले निषेचनको सम्भावना बढाउँछ भन्ने तर्क दिन्छन् तर यौन सम्पर्कले कति प्रतिशत सकारात्मक असर गर्छ भने यकिन हुन सकेको छैन ।

यसले कुनै हानी भने अवश्य हुँदैन त्यसैले आफ्नो चाहना अनुसार यौन सम्पर्क गर्न सकिन्छ ।

७. खुशी रहनुहोस्

यी सबैभन्दा पनि महत्वपूर्ण, यसबेला सकेसम्म खुशी रहन सक्नुपर्छ । धेरै ठूलो आशा राख्नु हुँदैन । सफलताको भरोसा राख्दै त्यसै अनुरुप उचित कार्यमा लाग्नुपर्छ ।

यस्तै साना-साना कुरामा ध्यान राख्दै IUI को सफलता बढाउन सकिन्छ । समय समयमा चेक-जाँच र भनिए अनुसार औषधि सेवन गर्न भने विर्सिनुहुन्न ।

Get our Articles Right in your Inbox every week.

* indicates required