पुरुष प्रजननका समस्या - मेरो भोगाइ, मेरो सिकाइ

2024-03-28 3442

Problems of male ferti...

कुरै नबुझी कुनै निर्णय लिंदा धेरै नै गार्हो हुने रहेछ । विदेशबाट फर्केको २ वर्ष बितिसक्दा पनि सन्तान  प्राप्ति नहुँदा मेरा सारा सपनाहरु चकनाचुर हुँदै थिए । अनुहारै डढाउने तातो हावा आउने विदेशको भूमिमा कडा परिश्रम गरेर जोहो गरेको पैसाले आफ्नो मुलुकमा आएर आफ्नै कारोबार गर्ने र सानो सुखी परिवारको सुरुवात गर्ने मेरो ठूलो धोको थियो । फर्केर ढुवानी व्यवसाय त सुरुवात गरियो तर कैयौं प्रयास गर्दा पनि सन्तान प्राप्त हुन सकेन । धामी-झाक्री, पूजा-आज्ञादेखि स्वास्थ्य चौकी जाँदा समेत केहि हुन सकेन । अर्को बिहे गर्न चारै तिरबाट साह्रै दबाब आउन थाल्यो तर श्रीमतीको अनुहार हेर्दा र उसका पीडा बुझ्दा, अगाडि बढ्न सकेको थिईंन । कहिलेकाहिँ ऊ मलाई पनि स्वास्थ्य संस्था जाउँ, तिम्रो नि जाँच गराउनुपर्छ भन्थी, तर म उसको कुरा टारीदिन्थें, उल्टै हप्काई पनि दिन्थें । सन्तान प्राप्तिकोलागि पुरुषको शुक्रकिट उत्पादन हुनुपर्छ, त्यो मेरो भइ नै रहेको थियो, अनि त उसको कुरा सुनेर रिस पनि कसरी नउठोस् ।

तर हिजो अबेर राती रेडियोमा सुनेको कुराले आज बारम्बार मलाई झस्काई रहेको थियो । म प्रश्नहरुको भुमरीमा फसेको थिएँ र आफूले यतिका दिनदेखि गल्ति गर्दै आएको महसुस गर्दै थिएँ । रेडियोमा फर्टिलिटि विशेषज्ञ भन्दै हुनुन्थ्यो ३०% जति बाँझोपनका समस्याहरु पुरुषसँग सम्बन्धित हुन्छन् । मैले कहिल्यै नसुनेको कुरा थियो । आखिर बीर्य उत्पादन गर्नु मात्र पर्याप्त नहुँदो रहेछ ।

  1. कहिले काहिँ विर्य उत्पादन हुँदा पनि त्यसमा गर्भधारण गराउन सक्ने शुक्रकिट नहुँदो रहेछ (azoospermia)। अन्डकोषको समस्या वा कुनै सम्बन्धित नली बन्द हुनाले यो समस्या हुन सक्ने रहेछ ।
  2. कहिले अल्पसंख्यामा शुक्रकिट हुँदा (oligospermia) पनि त्यसले महिलालाई गर्भवती बनाउन सक्दैन।
    त्यति मात्र कहाँ हो र !
  3. वीर्यमा आँखाँले देख्न नसकिने, तर माछा आकारका भ्यागुताका साना बच्चा जस्तै देखिने शुक्रकिटको रुप असामान्य भए पनि त्यसले गर्भ धारण गराउन नसक्ने रहेछ ।
  4. वीर्यले त शुक्रकिटलाई पौडिन र जीवित राख्न मात्र मद्दत गर्ने पो रहेछ र फुर्ति सँग पौडन नसक्ने शुक्रकिट को पनि केहि काम नहुँदो रहेछ ।

यति धेरै कुराहरु मेरालागि नितान्त नौला थिए । यस्ता उपयोगी कार्यक्रम राती मात्र किन ? मैले बुझ्न खोज्दै थिएँ । आखिर यो सबैसँग सम्बन्धित र हितकारी कुरा हो । हामी अझै यस्ता कुरा सिक्न र सिकाउन किन लाज मान्छौं ?

आफ्नो उमेरका साथी भाईहरुमा मर्द-नामर्दको कुरा धेरै नै हुन्थ्यो । कसैलाई उक्साउनु परे अत्याधिक यसको प्रयोग हुन्थ्यो त्यसैले कसैको लिंग उत्तेजित हुन नसके वा लिंगबाट वीर्य आउन नसके (जसमा वीर्य भित्रि थैलीतिरै निस्कासित हुन्छ) वा cystic fibrosis जस्ता रोगका कारण शिघ्र पतन भइ उसबाट सन्तान प्राप्ति हुँदैन भन्ने राम्ररी थाहा थियो । कुनै चोटपटक वा किमोथेरापी वा शल्यक्रिया वा हर्मोनको गड्बडीले पनि कहिलेकाहिँ अन्डकोषमा असर पुग्छ भन्ने कुरा पनि मैले बुझेको थिएँ ।

यौन रोग जस्तै chlamydia, gonorrhea, mumps वा HIV लागे सन्तान प्राप्ति नहुने र आफ्नो स्वास्थ्यमा गम्भीर असर पर्ने कुरा साथीभाईहरुबाटै सिकेको कारण विदेश बस्दा कुनै कुलतमा लागिन किनभने मेरो आफ्नै एउटा सुन्दर सपना थियो र त्यसलाई म जसरीपनि प्राप्त गर्न तत्पर थिएँ ।

ढुंगा खोज्दा देउता भेट्नु भन्छन्, परबाट स्वास्थ्य संस्थाको डाक्टर साहब गैरहेको देखेर मलाई त्यस्तै अनुभूति भयो र म परबाटै उहाँलाई बोलाउँदै उतैतिर लम्किएं ।

उहाँसंगको कुराकानीमा मैले थाहा पाएँ कि धेरै मात्रामा चुरोट, रक्सी वा अरु कुनै लागूपदार्थजन्य वस्तुको सेवन गरे वा सहि तरिकाले ब्यायाम नगर्दा कम तौल वा अधिक तौलको भएमा वा उमेर धेरै ढल्केमा पनि सन्तान प्राप्तिमा असर पुग्न सक्छ । यस्तै केहि वातारणीय कारणहरु जस्तै अति गर्मी स्थलमा काम गर्ने, ड्राइ क्लिनिंग गर्ने, धेरै मात्रामा खाना पकाउने, ड्राविंग गर्ने वा आगोको भट्टी नजिक काम गर्ने मानिसको शुक्रकिट उत्पादनमा पनि कमी हुँदै जान सक्छ र सन्तान प्राप्तिमा गार्हो हुन सक्छ ।

उनको यस्ता कुरा सुनेर म निकै अतालिएको थिएँ । के समस्या मेरै मा हो त ? यो प्रश्नले मलाई एकछिन अल्मलायो र म सोच्न थालें, यदि समस्या ममै रहेछ भने अर्को बिहे गर्दा मैले आफ्नो श्रीमतीमाथि कति ठूलो अपराध गर्थें होला !

मलाई यसरी अवाक देखेर डाक्टर साहबले सम्झाउदै भन्नुभयो, “अहिले नै चिन्ता लिनु पर्ने कुनै कारण छैन । कहिले काँहि सामान्य जाँच, स्वास्थ्य सम्बन्धि पुरानो रेकर्ड वा विर्यको परिक्षणबाटै यसको पहिचान गरी निराकरण गर्न सकिन्छ भने कहिले काहिँ हर्मोनको जाँच वा अन्डकोषको अल्ट्रासाउन्ड गर्नुपर्ने हुन सक्छ । यी बाहेक कुनै आवस्थामा भने केहि सिरिन्जको मद्दतले वीर्य झिकेर पनि जाँच गरिन्छ ।

यसरी वीर्यको कारण नै समस्या भएको देखिएमा विभिन्न उपचार अपनाउन सकिन्छ । विर्यको संख्या, चाल, बनोट आदिमा केहि सुधार ल्याउन औषधि सेवन गर्न सकिन्छ भने कुनै नली बन्द भएको अवस्थामा शल्यक्रिया गर्न सकिन्छ । केहि अवस्थामा हर्मोनको गड्बडी पनि औषधिको सेवनबाट ठीक हुनसक्छ ।
अहिले सन्तान प्राप्तिकै लागि, सहज र भरपर्दो उपायका रुपमा IUI, ICSI, IVF जस्ता आधुनिक प्रक्रिया पनि उपलब्ध छन् । चिन्ता लिनु पर्दैन, भरोसा राख सबै ठीक हुन्छ ।“

उहाँको यो कुरा सुनेर मनमनै मेरा सपनाहरु फेरी पूर्ण हुन सक्ने आशा पलायो र आफ्नी श्रीमतीमाथि अन्याय गर्नबाट बचेकोमा पनि म हर्षित थिएँ । सबैजनाको पहुँचमा सबै सूचना भए कति जाति हुन्थ्यो सोच्दै, डाक्टर साहबलाई धन्यवाद दिएँ र भोलि नै सुविधा सम्पन्न अस्पतालमा गई जाँच गराउने निधोका साथ म आफ्नो बाटो लागें ।

Get our Articles Right in your Inbox every week.

* indicates required