प्रजनन् मा गर्भपात (Miscarriage) को असर

2020-07-17 949

Miscarriage.jpg

प्रसङ्ग “यौन शिक्षाको।“ धेरै वर्ष पहिले स्कूलमा हुँदा प्रजनन् प्रणाली सम्बन्धि पाठ पढ्नु थियो । शिक्षक कक्षामा आउनुभयो र पाठ शुरुमात्र गर्नुभएको थियो, सबै केटाहरु गलल हाँसे । केटिहरु लाजले भुतुक्क भए । शिक्षकले पनि त्यसपछि पाठ पूर्ण गर्न दुई समूह बनाएर पढाउनु भयो ।

हिजो भन्दा आज धेरै कुरा बदलिएको छ । हामी धेरै जानकार भएका छौं र औषधि उपचारमा पहुँच पनि बढेको छ तर यौन सम्बन्धि विषयमा संकीर्णता अझै कायम छ । मानिसहरु यस सम्बन्धि खुलेर कुरा गर्न हिच्किचाउँछन् र केहि समस्या भइहाले कसैसँग सल्लाह माग्न पनि लाज मान्छन् । कति नाम नखुलाई पत्रबाट विशेषज्ञसँग सामाधान खोज्न रुचाउँछन्  त कति अबेर राती, यौन सम्बन्धित रेडियो कार्यक्रमबाट सामाधान निकाल्न प्रयासरत हुन्छन् ।

यहि कारणले होला गर्भधारण सम्बन्धि कुरा गोप्य नै राख्न खोजिएको । कति समाजमा के देखिन्छ भने महिलाहरु आफ्नो  गर्भ देखिने नभएसम्म, सूचना आफ्नो परिवारबाहेक अरु कसैलाई पनि दिन चाहँदैनन् । अरुको आखाँ लाग्ने डर कतिको मनमा हुन्छ भने कतिमा सुरुवात तिर गर्भपात (miscarriage) हुनसक्ने डर हुन्छ । कति महिला गर्भपात भइहाले सबैलाई स्पष्टीकरण दिनु पर्छ भनेर पनि सक्दो बच्चा नजन्मिए सम्म सूचन गोप्य नै राख्ने कोसिस गर्छन् । अहिले बेबी सावर को प्रथा शहरमा बढे पनि गाउँ घरमा बच्चा जन्मिनुअघि नै बच्चाको लागि केहि किन्नु अशुभ ठानिन्छ ।

यहाँ के बुझ्नु जरुरी छ भने यी सब हाम्रो सोचको उपज मात्र हो । कति के सोच्छन् भने हामी आजमा जिउनु पर्छ र आज खुशी छ भने मनाउन हिच्किचाउनु हुन्न । भोलि केहि गरी गर्भपात (miscarriage) को समस्या देखिइहाले हाम्रो दु:ख बाँड्ने पनि धेरै हुन्छ र एक्लोपन वा कुण्ठाबाट हामी बच्न सक्छौँ । दोश्रो सोच किन पनि लाभकारी हुन सक्छ भने कतिपय अवस्थामा गर्भपात (miscarriage) हाम्रो अधिनमा हुन्न । २० -२५ % गर्भवती महिलाहरु यसबाट पिडित भएका छन् । यसबाट खुलेर कुरा गर्ने प्रवृतिको पनि विकास हुन सक्छ । कसैले आफ्नो गर्भपात (miscarriage) को कुरा सुनाउँदा “बिचरा” भन्नुभन्दा “यहाँ गएर जाँच गराउनुहोस् , ठीक हुन्छ – सन्तान प्राप्ति हुन्छ” भन्न सक्ने थियौं ।

गर्भपात (miscarriage) एक आम समस्या हो र यो जो कोही महिलामा देखिन सक्छ । कतिपय अवस्थामा बारम्बार गर्भपात (miscarriage) देखिएपनि यसको मूल कारण पत्ता नलाग्न सक्छ । धेरैजसोमा यो पहिलो त्रैमासिकमा देखिन्छ भने कसैकसैमा त्यसपछि देखिन्छ।

गर्भपात (miscarriage) लाई कसरी बुझ्ने त ? यस सम्बन्धि आधारभूत जानकारी तल दिइएको छ ।

गर्भपात (miscarriage) हुनुका मुख्य कारण के-के छन् ?

गर्भपात (miscarriage) को कारण अधिक अवस्थामा पत्ता लगाउन गाह्रो हुन्छ । रिपोर्ट मा अवस्था सामान्य देखिएपनि यस्तो समस्या भइरहेको हुन सक्छ । दुई पटक गर्भपात (miscarriage) भएका ६५% महिलाहरुले तेस्रो पटकमा सफलता पाएका छन् । कारण पत्ता लागे यसको निराकरणमा लाग्नु जरुरी हुन्छ भने कारण पत्ता नलागे सकारात्मक भई प्रयास जारी राख्नुपर्छ ।

गर्भपातका मुख्य कारण:

  • क्रोमोजम सम्बन्धि गडबडी हुन सक्छ जुन परिवार बाट अनुवंशिक रुपमा आएको हुन सक्छ । यसलाई IVF प्रक्रियामा  पहिचान र निराकरण गर्न सकिन्छ ।
  • गर्भाशयको बनोट असामान्य हुन सक्छ । कतिमा दुईवटा गर्भाशय देखिन्छ, कतिमा  फ़ाइब्रोइड र पोलिप्स देखिन सक्छ, कतिमा गर्भ टाँसिने ठाउँमा घाउ वा कुनै असमान्यता हुन सक्छ । यस्ता समस्या गर्भधारण गर्नु पूर्व निराकरण गरेर अघि बढ्न सकिन्छ ।
  • इन्डोक्राइन सम्बन्धि समस्याले गर्भपात (miscarriage) हुन सक्छ । PCOS को समस्या देखिएको हुन सक्छ । यस्तो अवस्थामा हर्मोनको मात्रा सन्तुलित गराउने प्रोजिस्ट्रोन सम्बन्धि औषधि सेवन गर्ने जस्ता उपचार गर्न सकिन्छ ।
  • रोग प्रतिरोधात्मक तत्वले पनि कहिलेकाँहि भ्रूणलाई  परतत्वको  रुपमा लिन सक्छ र एन्टीबडीले त्यसको विनास गर्न सक्छ । बारम्बार रगत जाँच गरेर र एस्पिरिन/हेरापिन जस्ता पदार्थ सेवन गरेर निराकरण गर्न सकिन्छ ।
  • वातावरणीय तत्व जस्तै  विषाधि, औषधि, x-ray, धुम्रपान, मध्यपान र जीवनशैली सँग सम्बन्धित मोटोपनाले पनि गर्भपात (miscarriage) ल्याउन सक्छ ।

What Can Causes A Misc...

गर्भपात (miscarriage) को लक्षण कसरी थाहा पाउने ?

गर्भपात (miscarriage) को लक्षण केहि महिलाहरुले  मात्र अनुभव गर्छन् । योनीबाट निस्कने तरल पदार्थको रङ्ग गाढा हुँदै जान सक्छ । रातो रंग देखिन सक्छ । यस्तै वक्षस्थल नरम हुँदै जान सक्छ, बच्चा चलेको महसुस हुन बन्द हुनसक्छ । यस्तो अवस्थामा डाक्टर को सल्लाह लिनु उचित हुन्छ । यस्तो अवस्थामा आएको तरल पदार्थ सङ्कलन गर्न सकिएमा थप अध्ययनका लागि लाभकारी हुन्छ ।

गर्भपात (miscarriage) को परिक्षण कसरी गरिन्छ ?

  • अङ्गको बनोट अध्ययन गर्न Ultrasound/ HSG / X-ray/ Sonography आदिको प्रयोग गरिन्छ
  • रोग प्रतिरोधको कार्यप्रणाली सम्बन्धि अध्ययन गरिन्छ
  • हर्मोन र इन्डोक्राइनको परिक्षण गरिन्छ
  • क्रोमोजमको संख्या वा अन्य अनुवंशिक रोगको अध्ययन गरिन्छ

How Doctors Diagnose M...

आमा वा दिदीबहिनीमा छ भने मलाई पनि हुन सक्छ?

आमा वा दिदीबहिनीमा भए तपाईंमा पनि हुने सम्भावना रहन्छ तर हुन्छ नै भन्ने हुँदैन । कहिले काहिँ संयोग मात्र हुन सक्छ ।

गर्भपात (miscarriage) मा बढ्दो उमेरको भूमिका छ ?

महिलाको बढ्दो उमेर संगै डिम्बको संख्या र गुणस्तर कम हुँदै जान्छ । राम्रो भ्रूण बन्न नसक्दा महिलाको शरीरले नै त्यसलाई तुहाउन सक्छ । पुरुषको उमेरसँग यसको अधिक सम्बन्ध नरहेको देखिएको छ । तर ४० वर्ष पश्चात पुरुषको वीर्यको गुणस्तर पनि कम हुने भएकोले चुनौती थपिंदै जान्छ ।

गर्भपात (miscarriage) हुनबाट कस्ता सावधानी अपनाउने ?

गर्भपात (miscarriage) बाट बच्न कुनै निश्चित उपाय नभएपनि हामीले जीवनशैली र खानपानमा ध्यान दिन सक्छौं । धेरै प्रतिकूल वातावरणमा काम नगर्ने, हानिकारक किरणबाट बच्ने, धुम्रपान र मध्यपानबाट टाढा बस्ने, स्वस्थ खानेकुरा खाने, तनाव कम लिने आदि ।

यस्तै सन्तान प्राप्तिको प्रयास गर्दा सकारात्मक भएर प्रयास गर्ने, केहि शंका लागेमा विज्ञको सल्लाह लिने । २-३ पटक प्राकृतिक रुपमा प्रयास गर्दा पनि सफल भएन भने विज्ञको देखरेखमा मात्र अर्को गर्भको प्रयास गर्ने ।

यसरी सजग रहेर प्रयास गरे सन्तान प्राप्तिको चाहना पूरा हुन सक्छ ।

Get our Articles Right in your Inbox every week.

* indicates required