के अनियमित महिनावारी बाँझोपनको संकेत हो ?

2020-07-24 911

Irregular Periods.jpg

महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । सामान्यतय: हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्दछ। के यसले सन्तान प्राप्त हुन सक्ने वा नसक्ने क्षमताको सूचकको रुपमा काम गर्न सक्छ ? के यसको नियमितता वा अनियमितताको आधारमा कसैलाई सन्तान प्राप्त गर्न योग्य / अयोग्यको रुपमा वर्गीकृत गर्न सकिन्छ?

उत्तर सामान्य देखिएपनि यो विषयमा किटानका साथ केहि भन्न सकिन्न किनभने मानव शरीर आफैंमा जटिल छ । कहिले असामान्य महिनावारी भएका महिलाले गर्भधारण गर्न सफल भएका हुन्छन् भने कहिले नियमित महिनावारी हुनेमा पनि बाँझोपन देखिन सक्छ ।

महिनावारी सम्बन्धि जानुपर्ने आधारभूत कुराहरु:

Irregular period.jpgमहिनावारी मूलतः गर्भधारणका लागि महिलाको शरीरले आफूलाई तयार पार्ने प्रकृया हो। यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्याउन endometrium को विकास भएको हुन्छ । निषेचन हुन नसकेको खण्डमा यो महिनावारीको रुपमा शरीरबाट बाहिर निस्किन्छ ।

  1. १ -५ दिन : यस अवधिमा रक्तश्राव हुन्छ
  2. ६-१४ दिन: डिम्बको र endometrium को विकास हुन्छ
  3. १४ दिन : डिम्बाशयबाट डिम्बको निष्काशन हुन्छ
  4. १५-२८ दिन: गर्भनली हुँदै डिम्ब पाठेघर सम्म पुग्छ । गर्भनलीमा शुक्रकिट सँग मेल भए गर्भधारण प्रक्रिया शुरु हुन्छ अन्यथा endometrium संगै डिम्ब पनि महिनावारीको रक्तश्रावको रुपमा निस्किन्छ ।

धेरै महिलामा आजकल अनियमित महिनावारीको समस्या देखिने गरिएको छ । यसका विभिन्न कारणहरु हुन सक्छन् । तल हामीले प्रजनन् मा हानी पुर्याउन सक्ने अनियमित महिनावारीका कारण सम्बन्धि चर्चा गरेका छौं ।

क) Anovulation / एनोभुलेशन

यस अन्तर्गत ovulation अर्थ डिम्ब निष्कासन हुन सक्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाह बिना गर्भधारण सम्भव हुँदैन ।

ख) Primary Ovarian Insufficiency (POI) / Premature Ovarian Failure (POF)

यस्तो अवस्थामा अनियमित महिनावारी हुनसक्छ वा पूर्ण रुपमा महिनावारी बन्द हुन सक्छ । Estrogen को मात्रा कम भएर हुन सक्ने यस्तो समस्यामा योनी सुख्खा हुने, यौन सम्पर्क पिडादायक हुने, निंद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसन जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा पनि विज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

ग) मोटोपन

मोटोपन प्रजनन् मा असर पुर्याउने एक प्रमूख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो हुनुमा PCOS, Thyroid पनि प्रमूख कारण हुन सक्छ । यस्तो अवस्थामा जीवनशैली / खानपान आदिमा सुधार ल्याएर र व्यायाम, योग आदिमा ध्यान दिएर सुधार ल्याउन सकिन्छ । धेरै कम तौल भएपनि समस्या देखिन सक्छ ।

घ) Polycystic Ovarian Syndrome (PCOS)

PCOS एक endocrine सम्बन्धि समस्या हो । यसले सबैमा बाँझोपन ल्याउँछ भन्ने हुँदैन तर गर्भधारणमा अफ्ठ्यारो हुने गर्दछ र ८ मध्ये १ मा बाँझोपन पनि ल्याउन सक्छ । PCOS देखिएकाहरुले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरुमा गर्भपात को समस्या देखिन सक्छ ।

ङ) Thyroid सम्बन्धि समस्या

अधिक सक्रिय वा न्यून सक्रिय थायरोइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ ।

यसमा  तौल बढ्ने, निन्द्रा नलाग्ने, थकान लाग्ने, डिप्रेसन हुने जस्ता समस्या देखिन सक्छ । यस्तो समस्या भएमा पनि चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

महिनावारी सँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने हुँदैन । कसै-कसैले केहि औषधि सेवन गरेर त कसैले निरन्तर प्रयास बाट पनि सन्तान प्राप्त गर्न सक्छन् ।

महिनावारी अनियमित भएकाले सन्तान प्राप्त गर्न के गर्ने ?

अनियमित महिनावारी भएका महिलाहरुले सन्तान प्राप्त गर्न आफ्नो जीवनशैली, खानपान आदिमा ध्यान पुर्याउनु पर्छ । तौल सन्तुलित पर्नु पर्छ र नियमित यौन सम्पर्क गरिराख्नु पर्छ । नियमित यौन सम्पर्कले (हप्तामा कम्तिमा ४ पटक सम्म) ओव्यूलेशन चक्रको बेला निषेचन हुने सम्भावना बढाउँछ जसले गर्दा सन्तान प्राप्ति को सम्भावना बढ्छ ।

नियमित महिनावारी मा पनि किन देखिन सक्छ बाँझोपन?

कहिलेकाँहि महिनावारी नियमित देखिएपनि सन्तान प्राप्तिमा चुनौती देखिन सक्छ । जस्तै:

  • विभिन्न कारणले गर्भनली बन्द हुन सक्छ वा कुनै घाउहरु देखिन सक्छ
  • नियमित महिनावारी हुँदाहुँदै पनि डिम्ब निष्कासन नभइरहेको हुन सक्छ
  • डिम्बको गुणस्तर राम्रो नहुन सक्छ जसले गर्भपात गराउन सक्छ

यी अवस्थामा महिनावारी नियमित भएपनि गर्भधारणमा समस्या हुन सक्छ ।

महिनावारीको गडबडीले गर्भधारणमा समस्या थपेको हुन्छ तर प्राकृतिक रुपमा गर्भ बस्नै नसक्ने हुँदैन । गर्भधारणको प्रयास २ वर्षसम्म पनि सफल भएन भने चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

Get our Articles Right in your Inbox every week.

* indicates required