प्रजनन् उपचारका लागि पहिलो पटक क्लिनिक जाँदाको अनुभव

2023-02-01 738

1801675145832_blogpost

जीवन निकै विचित्रको रहेछ। अझ हाम्रा हरेक अङ्ग अङ्ग रहस्यका भण्डार। के भएको हो र के हुने हो, केही पत्तै नहुने। बिहे भएको ३ वर्षसम्म कुनै सन्तान प्राप्त गर्न नसक्दा म निकै विचलित थिएँ। सुरुको एक वर्ष मेरा श्रीमानकै सहमतिमा अस्थायी गर्भ निरोधक साधन प्रयोग गरे पनि, पछि भने हामी दुवैले एउटा सन्तानको योजना बनाएका थियौँ। यस ठूलो संसारमा आफ्नो एउटा सानो र सुखी संसार बसाउने सपना कुन दम्पतीको नहोला र? सुरुका दिनहरू सुखमय नै बिते। हाम्रो आशा प्रबल थियो। तर त्यसपछिको लगातार २ वर्षको प्रयास पनि असफल नै ठहरिएपछि मलाई मनमा खटपट खटपट हुन थाल्यो। म त्यति बेला बल्ल २५ वर्षकी थिएँ र मेरा श्रीमान् २७ वर्षको हुनुहुन्थ्यो।

फेरि हामी दुवै जना आफ्नो स्वास्थ्यलाई लिएर पहिलेदेखि निकै संवेदनशील थियौँ। दैनिक बिहान चाँडै उठेर योगा र व्यायाम  गर्थ्यौँ। मदिरा र धूम्रपानबाट मेरो श्रीमान् पनि टाढै हुनुहुन्थ्यो। हाम्रो परिवारमा पनि सबै जना स्वस्थ नै हुनुहुन्थ्यो। कसैलाई कुनै दीर्घ रोग पनि थिएन। मेरो महिनावारी नियमित रूपमा भइरहेकै थियो। अझ हाम्रो बच्चा जन्माउने उमेर पनि सही थियो। सबै परिस्थिति सही देखिँदा पनि मेरो कोख रित्तै रह्यो।

मैले अझ केही दिनसम्म धैर्य गरेँ र मेरो प्रयास जारी राखेँ। अर्को महिना पनि मेरो सधैँको समयमा महिनावारी सुरु भएपछि मेरो आशा मर्न थाल्यो। आफूलाई एक्लै महसुस गर्न थालेँ। म कसैसँग बोल्न खोजिनँ। छिमेकका सङ्गीहरूसँग पनि आफ्नो मनको व्यथा खोल्न सकिनँ। ठ्याक्कै त्यही बेला मेरो भाइ बुहारीलाई छोरी प्राप्त भएको थियो। त्यसपछि मेरो मनको घाउ झन् झन् पोल्न थाल्यो। अरूका प्यारा प्यारा बच्चा देख्दा एक्लो महसुस हुन्थ्यो। भित्रभित्रै जलन पनि हुन्थ्यो। छरछिमेकमा पनि मलाई बाँझी भन्दै कुरा काट्दा रहेछन्। मेरा सासू ससुरा पनि नातिनातिनाको मुख हेर्न आतुर हुनुहुन्थ्यो। विवाहको यति समय पछि पनि घरमा सन्तानको आगमन नहुँदा मेरा श्रीमानलाई अर्को बिहेको प्रस्ताव आउन थालेको थियो। मेरो केही गल्ती नहुँदा पनि म माथि नै अन्याय गरिँदै थियो। मेरो श्रीमानले त मलाई पहिले देखि नै माया गर्नुहुन्थ्यो। तर अरूको कुरा सुनेर हो कि उहाँ पनि दोधारमा हुनुहुन्थ्यो।

मलाई छाडी अर्कै श्रीमती ल्याउने कुरा सिधै नगरे पनि, उहाँले सधैँ सासू ससुराको कुरामा सहमति जनाउनुहुन्थ्यो। अनि बिहे प्रस्तावको कुरा निकै चासो लिएर सुन्नुहुन्थ्यो। बरु सन्तान नभए पनि नहोस् तर श्रीमानको पनि साथ छुट्यो भने त मेरो जिन्दगी नै बरबाद हुने निश्चित थियो। माइती पनि कुन मुख लिएर जानु? दोस्रो विवाह गर्न पुरुषलाई जस्तो सजिलो महिलालाई छैन। श्रीमतीलाई त श्रीमानको हात छुट्नु भनेको सास छुट्नु जस्तै हुन्छ। मेरो पोल्टामा न त सन्तानको प्राप्ति रह्यो, न त श्रीमानको साथ रह्यो भन्ने कुराले म विचलित थिएँ। ती दिनहरूमा मलाई आफ्नै घरमा अपरिचित झैँ महसुस हुन्थ्यो। मनमा कैयौँ नकारात्मक कुराहरू खेल्न थाले। किन मलाई मात्र समाजले प्रश्न गर्छ? त्यो समस्याको कारण म हूँ वा होइन, थाहै नपाई म माथि गरिएको अत्याचारले म गलिसकेकी थिएँ। 

मलाई पनि नौ महिना गर्भमा राखेर निकै मायाले सन्तान हुर्काउने मन थियो। हरेक आमा झैँ मलाई पनि मेरो सन्तानको बोली फुट्नासाथ “आमा” भन्दै पुकारोस् भन्ने चाहना थियो। मेरो चाहना पूरा नहुँदा म निराशावादी सोचको सिकार भएँ। त्यस बेला नकारात्मक तर्कनाहरूमा मेरो दिनचर्या बित्न थाल्यो। मेरो मन न त शान्त हुन सक्यो, न त मैले चाहेको समाधान पाउन सकेँ। केवल मनमा पीडा र जलन बाहेक मलाई केही प्राप्त भएन। 

केही दिन यता म श्रीमानसँग पनि खुलेर बोल्न सकेकी थिइनँ। उहाँ पनि काममा निकै व्यस्त भए जस्तो गर्नुहुन्थ्यो। त्यो दिन मलाई पनि अलि झिजो लागेको थियो। झ्याउ लागेर म फेसबुक वालतिर आँखा घुमाए। मेरी स्कुलकी साथी आभाको घरमा Baby Shower को रमझम थियो। फोटोमा आभा मुस्कुराइरहेकी थिई र उसका श्रीमानले उसको गर्भलाई निकै प्रेमपूर्वक तरिकाले स्पर्श गर्दै हुनुहुन्थ्यो। मलाई एक छिन त अचम्म लाग्यो। किनकि केही समय पहिले उसले पनि नि:सन्तानको समस्या भोग्नुपरेको थियो। उसको र मेरो विवाह एक महिनाको अन्तरालमा मात्र भएको थियो। घरमा प्रवेश गरेदेखि नै उसले सुख पाएकी थिइन। विवाहको मिति देखि नै उसलाई सन्तान जन्माउने दबाब थियो। नि:सन्तानकै समस्याले गर्दा उसको श्रीमान् नयाँ श्रीमती भित्र्याउने तरखरमा हुनुहुन्थ्यो। आभालाई घरमा सासूले पनि साह्रै दुःख दिएको कुरा अस्ति भर्खर मैले अरू सङ्गिनीबाट सुनेकी थिएँ। कहिले यो खा र त्यो खा भन्ने, अनि अरूका साना साना बच्चा देख्दा आफ्नो बुहारीलाई सराप्ने कुरा १ वर्ष अगाडि उसले नै मलाई बताएकी थिई।   उसले झन् मैले भन्दा धेरै वेदना भोगेकी थिई। 

तर अचानक उसको Baby Shower को फोटो देख्दा म साह्रै खुसी भएँ। त्यही सन्तानले गर्दा उसको विवाह जोगियो। ससुरालीमा पनि अनायासै उसको मान मर्यादाले ठाउँ पायो। आफ्नै साथीको सफलता देखेर यो बारे मलाई ऊ सँग कुरा गर्न मन लाग्यो। आभालाई म्यासेन्जरमा भिडियो कल गरेँ। सर्वप्रथम त उसलाई लाखौँ लाख बधाई दिएँ। मेरो समस्याको बारेमा पनि उसलाई पहिले देखि थाहा थियो। म फेरि पनि उही कुरा कोट्याउन थालेँ। एक छिन त भक्कानिएर रोएँ पनि। दुई सङ्गिनीको दुःख एउटै भएर होला ऊ पनि आफ्नो विगत सम्झेर रुन थाली। यति वर्ष पछि सन्तान प्राप्ति कसरी भयो भनेर मैले सोधिहालेँ। नि:सन्तान उपचार क्लिनिकमा उसको चेकजाँच र औषधोपचारले नै गर्भ रहेको कुरा उसले निकै हर्षित भएर सुनाई। उसले मलाई नि:सन्तान उपचार गर्ने क्लिनिक जान सुझाव दिई। उसको समस्या के रहेछ भन्ने कुरामा मलाई खुल्दुली जाग्यो। उसले आफू र श्रीमान् दुवैको हर्मोनल गडबडी भएको कारण बताई। उसले श्रीमान् र सासू ससुरालाई यस उपचारको लागि मनाउन पनि साह्रै सङ्घर्ष गर्नुपरेको उल्लेख गरी। उसको समस्याको समाधान हुन सक्छ भने मेरो समस्याले पनि सही समाधान अवश्य पाउला भन्ने तीव्र आस जाग्यो। आभाले मलाई अबेर नगरीकन र मनमा धेरै कुरा नखेलाईकन सिधै क्लिनिक जाने सल्लाह दिई। अनि घरमा आफ्नो कुरा प्रस्ट रूपमा र सही ढङ्गले राख्न सुझाव दिई। आभासँग कुरा गरेपछि मेरो मन हल्का भयो। मनको बेचैनी हरायो। म अब भने क्लिनिक जान आतुर थिएँ। कुरा गुम्साएर राख्दा कहिल्यै मनमा शान्ति हुँदो रहेनछ। 

मलाई सुरुमा त अलि हिचकिचाहट महसुस भएको थियो। क्लिनिक जाने कुरा घरमा कसरी भन्ने होला भन्ने चिन्ता लाग्यो। तैपनि श्रीमानलाई सुटुक्क भनेर क्लिनिक जानुपर्ने कुरा बताएँ। हामी दुवै जना गएर चेकजाँच गर्नुपर्‍यो भनेर भन्दा उहाँले अलि चर्को स्वरमा इन्कार गर्नुभयो। उहाँको आवाजले म अनायासै झस्किएँ। उहाँले भन्नुभयो, “मेरो के समस्या होला र? तिमी जँचाएर आऊ न।” सायद उहाँलाई आफूमा केही समस्या देखिए परिवारमा कसरी मुख देखाउने भन्ने कुराले बिझायो कि। बच्चा नहुने समस्या त छँदै छ। अर्को मानसिक तनावले मान्छेलाई सताउनु सताउँछ। आमाबुवाले पनि मेरो दोष देखाउँदै उहाँको विवाहको चर्चा चलाइसक्नुभएको थियो। आफ्नो कमजोरीको प्रभाव किन श्रीमतीमाथि पार्नु भन्ने कुरा उहाँलाई पनि पक्कै लागेको थियो। मैले उहाँलाई आभाले भनेका कुराहरू बुझाएँ। “चेकजाँच मात्र गराएर आऔँ न त। जे समस्या छ थाहा भइहाल्छ। अनि कुन प्रक्रियाको प्रयोग गर्न सकिन्छ, चिकित्सकले सल्लाह दिइहाल्नुहुन्छ नि।”, मैले उहाँलाई सम्झाएँ। उहाँले मेरो कुराको सहमति जनाउनुभयो। भोलिपल्ट जोई पोइ नजिकको नि: सन्तान उपचार क्लिनिकमा जाने निर्णय गर्‍यौँ। आमाबुवालाई भने चेक गरिसकेपछि मात्र बताउने निधो भयो। 

बिहान १० बजे तिर हामी क्लिनिकमा प्रवेश गर्‍यौँ। त्यहाँ पस्न साथै हामीले दम्पतीहरूको भीड देख्यौँ। यति धेरै मानिसमा यस्तो समस्या हुने रहेछ भन्ने थाहा पाउँदा म छक्क परेँ। म मनमनै आफ्नो समस्याको जालमा अल्झिरहेकै बेला, त्यो भीडले पनि मलाई अलिकति ढाडस दियो। आधि घण्टा पर्खेपछि मात्र हाम्रो पालो आयो। डाक्टर साहेबले सुरुमा मेरो रगतको जाँच र पेल्भिक अल्ट्रासाउन्ड साथसाथै श्रीमानको वीर्य जाँच गराउनुभयो। जाँच गराउने ठाउँमा पनि उत्तिकै भीड थियो। 

उहाँको जाँच रिपोर्टमा केही गडबडी थिएन। आफ्नो समस्या नदेखिँदा उहाँको अनुहारमा अर्कै रौनक थियो। रगत जाँच गराउँदा मलाई Follicle Stimulating Hormone को कमी देखियो। यो हर्मोनको कमीका कारण महिलामा डिम्बाशयको फलिकल्स राम्ररी नबढ्ने र अण्डा निस्कन नसक्ने कुरा डाक्टरले बताउनुभयो। यसले गर्दा महिलामा बाँझोपन हुने रहेछ। डाक्टरको अनुसार यो समस्या निकै जटिल भने रहेनछ। इन्जेक्सन मार्फत रगतमा उक्त हर्मोनको मात्रा बढाउन सकिने रहेछ। हर्मोनको मात्रा सही हुना साथै अण्डाको पूर्ण विकास भई  गर्भाधान गर्न सहज हुने रहेछ। यसको उपचार प्रक्रिया साह्रै जटिल नहुने र शीघ्र उपचार सुरु गरिसक्नुपर्ने डाक्टरले सल्लाह दिनुभयो। Ovarian Stimulation मार्फत् महिलाको शरीरको हर्मोनल अपर्याप्तताको उपचार गर्न सकिने रहेछ। इन्जेक्सन र औषधिले नै यसको उपचार हुने र नियमित रूपमा इन्जेक्सन लिनुपर्ने डाक्टरले बताउनुभयो। कति समयसम्म र कति मात्रामा लिनुपर्ने हो, यसको आवश्यकता हरेक महिलापिच्छे फरक फरक हुन्छ। कतिपय सन्दर्भमा भने महिलामा केही समस्या नभएको र पुरुषमा नै शुक्रकीटको समस्याले बाँझोपन हुन्छ। त्यसैले यो समस्यालाई समाधान गर्ने जिम्मेवारी महिला र पुरुषको बराबर हुन्छ। 

एक अर्काको साथ भएमा धेरै जसो बाँझोपन सम्बन्धित समस्या सामान्य हुने र सामान्य उपचारले पूर्णतः निको हुन्छ। दोष लगाउनु र आत्तिनु मात्र यसको समाधान होइन। सम्बन्धित स्वास्थ्य केन्द्रमा गई आफ्नो कुरा राख्नाले मनको भ्रम जालबाट बाहिर आउन सकिन्छ।

अब उपचार विधिको तरखरमा लाग्दा हामी निकै आशावादी थियौँ। घरमा एक पटक सल्लाह गरेर मात्र उपचार सुरु गर्ने निधो भयो। आमाबुवाले पनि नयाँ बुहारी ल्याउनुको साटो मेरो उपचार तर्फ ध्यान बढाउनुहुन्छ कि भन्ने आशा थियो। अब छिटै सन्तानको आगमन होला भन्ने भरोसाका साथ हामी क्लिनिकबाट घरको बाटो लाग्यौँ।   

Get our Articles Right in your Inbox every week.

* indicates required