भ्रूण स्तानान्तरण (Embryo Transfer) पछि ख्याल राख्नुपर्ने कुराहरु

2020-09-10 1026

increase-ivf-success-a...

IVF उपचार औषधि सँग मात्र सम्बन्धित हुँदैन । यसमा मनोभावाना पनि उत्तिकै जोडिएको हुन्छ । बर्षौं देखिको सन्तान प्राप्त गर्ने सपना जोडिएको हुन्छ । डिम्बको गुणस्तर बढाउन र धेरै मात्रामा परिप्वक्क डिम्ब प्राप्त गर्न १०-१५ दिन सम्म प्रयोग गर्नुपरेको सुईको पीडा पनि मिसिएको हुन्छ । कसैकसैमा हर्मोनको औषधिको प्रयोगले ल्याउन सक्ने केहि परिवर्तन को चुनौती पनि थपिएको हुन सक्छ। यस्तो अवस्थामा भ्रूण स्तानान्तरण पछि गर्भाधारणको सम्भावना बढाउन अपनाउनुपर्ने सावधानीलाई लिएर कौतुहल हुनु सामान्य कुरो हो ।

धेरै सेवाग्राहीको प्रश्नहरु प्राय: यस्ता हुन्छन् –

१. के अब अधिक समय सुतिरहेमा गर्भाधारणको सम्भावना बढ्छ ?

२. ट्याक्सी, बस, मोटरसाइकल आदिमा चढेर यात्रा गर्न मिल्छ ?

३. भर्याङ चढ्नु हुन्छ कि हुँदैन ?

४. इनडियन बनोटको चर्पी प्रयोग गर्न मिल्छ कि पश्चिमा बनोटकै चर्पी प्रयोग गर्नुपर्छ ? कुर्सिको प्रयोग गरेर इनडियन बनोटको चर्पी परिमार्जन गर्नुपर्ने हो ?

५. भ्रूण स्तानान्तरण गरेकै दिन हवाईयात्रा गर्न मिल्छ ?

भ्रूण स्तानान्तरण पछि केहि सावधानी अपनाउनु जरुरी छ तर सामान्य गर्भाधारण भन्दा एकदमै फरक भने केहि गर्नुपर्दैन । निम्न कुराहरुमा ध्यान राखे गर्भाधारणको सम्भावना अधिक हुन्छ ।

१. भ्रूण स्तानान्तरण पछि केहि बेर आराम गर्नुहोस् । चर्पीको प्रयोग गर्नुपर्ने भएमा निर्धक्क भएर प्रयोग गर्न सक्नुहुन्छ तर स्वच्छताको ख्याल राख्नुहोस्। भ्रूण खस्न सक्ने सम्भावाना हुँदैन ।

२. घर फर्किंदा ट्याक्सीको प्रयोग गर्नुहोस् । समथर बाटोको प्रयोग गर्नुहोस् ।

३. भ्रूण स्तानान्तरण गरेको १-२ दिन सम्म सुतेर तनाव र उत्सुकता बढाउनु भन्दा सामान्य हिंड-डुल वा सजिलो गरी बस्नु नै उचित हुन्छ तर अधिक भार पर्ने कार्य नगर्नुहोस् ।

४. इन्फेक्सन हुन नदिन स्विमिंग पुलको प्रयोग नगर्नुहोस् । भ्रूण खस्ने/पानीमा घुल्ने डर योसँग सम्बन्धित छैन ।

५. आफूलाई मन पर्ने कार्य जस्तै पुस्तक पढ्ने, संगीत सुन्ने, चलचित्र/टिभी हेर्ने जस्ता विभिन्न कार्य गर्न सक्नुहुन्छ ।

६. आफ्नो सहजताको अनुसार कुनै बनोटको चर्पी प्रयोग गर्न सक्नुहुन्छ । तर सार्वजनिक स्थानको चर्पीको प्रयोग नगर्नुहोस् ।

७. भर्याङ चढ्दा समस्या छैन तर विस्तारै गर्नुहोस् जसले अधिक थकान नहोस् ।

८. आफुलाई सक्दो रोग लाग्न नदिनुहोस् । स्वस्थ रहने सामन्य उपायहरु पालन गर्नुहोस् ।

९.  हल्का व्यायामहरु पनि गर्न सक्नुहुन्छ । शरीरलाई अधिक भार पर्ने व्यायाम चाहिँ नगर्नुहोस् ।

१०. करिब २ हप्ता सम्म यौन सम्पर्क नगरेकै उचित हुन्छ ।

११.  स्वच्छ र स्वस्थ खानेकुराहरु को प्रयोग गर्नुहोस् ।

१२.  खुशी रहने प्रयास गर्नुहोस् । कुनै प्रकारको चिन्ता नलिनुहोस् ।

१३.  अफिस जानुपर्ने छ भने अफिस जान सक्नुहुन्छ तर तनाव हुने कार्य बाट आफूलाई टाढै राख्नुहोस् ।

१४.  २ दिन पश्चात घरका सामान्य कार्यहरु सदाझैँ गर्न सक्नुहुन्छ ।

१५.  बाहिर निस्किंदा मास्क को प्रयोग गर्नुहोस् जसले धुलो र अन्य रोगको संक्रमणबाट जोगाउँछ ।

१६.  हवाईजहाजमा चढ्दा तपाईंलाई धेरै गार्हो हुन्न भने  भ्रूण स्तानान्तरण को भोलिपल्ट वा सोही दिन पनि हवाईयात्रा गर्न सकिन्छ ।

१७. औषधिको नियमित सेवन गर्नुहोस् र भरपुर मात्रामा पानी पिउनुहोस् ।

यसरी साना-साना कुरामा ध्यान दिनुहोस् र सक्दो खुशी र आशावादी रहनुहोस् । गर्भाधारणको सम्भावाना उच्च भएर जान्छ ।

 

IVF सफलता सम्बन्धि यो भिडियो पनि हेर्नुहोस् ।

 

Get our Articles Right in your Inbox every week.

* indicates required