सन्तान प्राप्तिका लागि कठिनाइ भएको छ – उचित क्लिनिक कसरी रोज्ने ?

2024-03-29 985

3851677479042_blogpost...

हाम्रो समाजमा दाम्पत्य जीवनको एक अनिवार्य आवश्यकता सन्तानको प्राप्ति हो। सबै दम्पतीलाई तुरुन्तै विवाह पछि सन्तानको चाहना नहोला तर जीवनको कुनै क्षणमा सन्तान प्राप्तिको इच्छा सबैमा हुन्छ। हुन पनि किन नहोस्, विवाहपछि सन्तान प्राप्ति नहुँदा घर शून्य हुन्छ। दम्पतीलाई पनि आफू अपूर्ण भए जस्तो महसुस हुन्छ। सन्तानले हरेक दम्पतीलाई नयाँ जीवन प्रदान गर्नुका  साथै जीवनमा नयाँ उद्देश्य प्रदान गर्छ अनि वंश अगाडि बढ्ने भएकाले एउटा मात्र सन्तानको प्राप्तिले पनि दम्पतीलाई निकै आनन्दित बनाउँछ। 

कतिपय सन्दर्भमा सन्तान प्राप्तिको लागि दम्पती इच्छुक र लगनशील भए पनि, गर्भमा भ्रूण रहँदैन। एक अनुसन्धानको अनुसार सन्तान नहुनुमा ४०% अवस्थामा महिलाको कारणले हुन्छ, ४०% अवस्थामा पुरुषको कारणले हुन्छ र २०% अवस्थामा अज्ञात कारणले हुन्छ। प्रत्येक ८ मध्ये १ दम्पतीमा सन्तान नभएकाले यो समस्या जताततै व्याप्त छ र नि:सन्तानबाट समाज कुनै पनि कोणबाट अछुतो छैन। सन्तान प्राप्ति नहुँदा सामाजिक र पारिवारिक दबाबले मानिसको सकारात्मक मनस्थितिलाई खलबल्याउँछ। विशेषतः महिलाहरूले नेपाली समाजमा भोग्नुपर्ने मानसिक यातना त यथावतै छ। समाजमा यो कुराको चेतना फैलिन आवश्यक छ कि, सन्तान प्राप्तिको कठिनाइ सामान्य र निको पार्न सकिने समस्या हो, अमान्य अपराध होइन।

हामी सबै समाजबाट प्रभावित हुने भएकाले यो समस्यालाई बुझी दम्पतीलाई सही उपचारतिर केन्द्रित गराउन पनि समाजमा स्वीकारोक्तिको विकास गर्नुपर्ने देखिन्छ। सन्तान प्राप्तिको समस्या भएको खण्डमा उचित उपचार केन्द्रमा गई सही परामर्श लिएर आफ्नो बाँझोपन सम्बन्धी उपचार गर्न साथै मानसिक स्वास्थ्यको पनि ख्याल राख्न आवश्यक छ।

सन्तान प्राप्तिको कठिनाइको समाधान गर्न मन बनाएका दम्पतीले धेरैजसो सन्दर्भमा बाँझोपन विशेषज्ञसँग नभई आफू नजिकको वा पहुँचमा रहेको Gynecologist बाट उपचार परामर्श लिने गर्दछन्। त्यसो गर्दा उनीहरूमा नि:सन्तान उपचार केन्द्रमा गराइने उच्च प्रविधि र परीक्षणको पहुँच हुँदैन र अन्तत: कैयौँ अवस्थामा बाँझोपनको कारणको गलत निदान समेत हुने गर्दछ। रोगको गलत निदान भएमा सही किसिमको उपचार पाउन नसक्ने र गलत उपचारले स्वास्थ्यमा थप समस्या बढाउन सक्दछ। त्यसैले सही उपचार केन्द्रको छनोट गर्दा कैयौँ पक्षलाई ध्यानमा राख्नुपर्छ। 

उचित क्लिनिक कसरी रोज्ने? 

१. सन्तान प्राप्तिको समस्याबारे विशेष तालिमप्राप्त स्त्रीरोग विशेषज्ञलाई छान्नुहोस्:

क्लिनिकको छनोट गर्ने बेला, उक्त क्लिनिकको चिकित्सकले सन्तान प्राप्तिको समस्याबारे विशेष तालिम प्राप्त गरेको हो कि होइन, जानकारी लिनुपर्छ। सामान्य स्त्रीरोग विशेषज्ञलाई भन्दा बाँझोपन सम्बन्धी थप तालिम प्राप्त चिकित्सकलाई सम्बन्धित समस्याबारे बढी जानकारी र अनुभव हुन्छ। त्यसैले तपाईले सही परामर्शका साथ सही उपचारको सुझाव पाउनको लागि उचित चिकित्सकसँग अन्तरक्रिया गर्नुपर्छ। चिकित्सकमा तपाईको भावना बुझ्ने र सोही बमोजिम समय दिएर उचित counselling गर्ने क्षमता भएमा यसले तपाईको बाँझोपन सम्बन्धी प्रश्न र चिन्तालाई समाधान गर्न सहयोग मिल्छ। त्यसैले चिकित्सकको खुल्लापन र उदार व्यवहारलाई पनि मध्यनजर गर्दै क्लिनिक छान्नुपर्छ। 

२. सहज वातावरण र आधुनिक उपचार विधि भएको क्लिनिक छान्नुहोस्: 

सहज वातावरण र आधुनिक प्रविधि उपलब्ध भएको उपचार केन्द्रको छनोट गर्नु एक महत्त्वपूर्ण कदम हो। उक्त छनोटले तपाईको शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई सुनिश्चित गर्दै गर्भाधानको सम्भावना बढाउँछ, किनकि शरीरको सहज र स्वस्थ अवस्था नै गर्भ रहने उचित अवस्था हो। आधुनिक प्रविधिले तपाईको उपचारलाई सुलभ र आरामदायी बनाउँछ साथै तपाईमा सबैभन्दा सफल उपचार विधिको पहुँच हुन्छ। आधुनिक प्रविधिले तपाईको प्रगतिको अनुगमन गर्न र स्वास्थ्य अवस्थाको सटिक मूल्याङ्कन गर्न पनि मद्दत गर्दछ। सहयोगी वातावरण र आधुनिक प्रविधिको साथ क्लिनिक छनोट गर्नाले बाँझोपन उपचारसँग सम्बन्धित तनाव र चिन्ता कम गर्न सकिन्छ, जसले अन्ततः राम्रो नतिजाको सङ्केत गर्छ। 

३. के के आधुनिक प्रविधिहरू उपलब्ध छन्? जानकारी लिनुहोस्:

सन्तान प्राप्तिको समस्यालाई कैयौँ प्राविधिक उपकरणबाट निदान तथा उपचार गर्न सकिन्छ। के कस्तो समस्यामा कुन प्रविधिको प्रयोग गरिन्छ र उक्त प्रविधिले के कस्तो फाइदा पुर्‍याउँछ भन्ने जानकारी राख्दा आफूलाई उपचार प्रक्रियामा जान सजिलो हुन्छ र उपचारको लागि चाहिने लागतको पनि अनुमान गर्न सकिन्छ। 

४. क्लिनिकको सफलता दरलाई विचार गर्नुहोस्:

हरेक क्लिनिकको भिन्न बनोट र वातावरण हुन्छ। तपाईले क्लिनिकमा जानु अघि उक्त क्लिनिक मार्फत प्राकृतिक वा कृत्रिम तरिकाबाट कति जना दम्पतीलाई सन्तान प्राप्तिको लाभ भएको छ, जानकारी लिनुहोस्। तपाई क्लिनिकको Testimonial र Success Stories को लेख पढेर वा भिडियो हेरेर आफ्नो छनोटको विचार गर्न सक्नुहुन्छ। बाँझोपनको अवस्था हेरी फरक फरक किसिमको उपचार हुने भएकाले एउटा दम्पतीमाथि गरिएको सफल उपचार तपाईमा पनि लागु हुन्छ भन्ने अवधारणा नबनाउनुहोस्। त्यसैले सफलता दरको तथ्याङ्कलाई आफ्नो सन्तान प्राप्तिको सम्भावनासँग दाँजेर हेर्नुहोस्। 

५. व्यवस्थित र आधुनिक प्रयोगशालाको प्रावधान छ कि छैन? सोधपुछ गर्नुहोस्:

आधुनिक साथसाथै व्यवस्थित प्रयोगशालाको प्रावधान हरेक क्लिनिकमा हुँदैन। कैयौँ क्लिनिकमा सम्पूर्ण सुविधा उपलब्ध हुँदैन र सुविधा नभएको खण्डमा उच्च गुणस्तरको सेवा प्रदान नहुने कारणले बाँझोपन सम्बन्धी समस्या निदान गर्न कठिनाइ हुन्छ। त्यसैले प्रयोगशालाको व्यवस्थापन र अद्यावधिकताको अवलोकन गरी क्लिनिकको छनोट गर्नाले परीक्षण र उपचार प्रक्रियामा प्राविधिक गडबडीले दक्खल पुर्‍याउँदैन। 

६. उपचार चरणको बेला गरिने हेरचाहको बारेमा बुझ्नुहोस्:

परीक्षण तथा उपचार चरणमा क्लिनिकले तपाईको कसरी र कुन तरिकाले हेरचाह गर्ने छ, ख्याल राख्नुहोस्। गर्भावस्था निकै संवेदनशील विषय भएकाले क्लिनिकको सरसफाइ, त्यहाँको स्टाफको व्यवहार, सपोर्ट सिस्टम आदि कस्तो छ भन्ने बारे बुझ्नुहोस्। उपचार चरणमा सही हेरचाह पाएमा गर्भ रहने सम्भावना बढ्छ।

७. नियमित भ्रमणको लागि सजिलो हुने गरी क्लिनिकको स्थानलाई पनि मध्यनजर गर्नुहोस्:

बाँझोपन सम्बन्धी उपचार एक लामो प्रक्रिया हो। बाँझोपनको हर्मोनल औषधोपचार वा IVF दुवैको सफलताको लागि तपाई क्लिनिकमा चिकित्सकको योजना अनुरूप नियमित भ्रमण गर्नुपर्ने हुन्छ। नियमित परीक्षण र उपचारको लागि सकेसम्म आफ्नो बसोबासको नजिक पर्ने गरी उपचार केन्द्रको छनोट गर्नुहोस्। यसले तपाईको समय बच्न साथै गर्भावस्थाको योजनामा दौडधुपलाई पनि कम गर्दछ।

८. आफ्नो आर्थिक अवस्थालाई हेरेर निर्णय लिनुहोस्:

धेरै मानिसको लागि सन्तान प्राप्तिको समस्याको समाधान आर्थिक अवस्थाको कारण पहुँचयोग्य हुँदैन। तर सबै उपचार विधि र परीक्षण महँगो हुँदैन। शरीरको जाँचपछि नै आफूलाई उपयुक्त उपचार विधिको बारेमा थाहा हुन्छ। क्लिनिक छनोट गर्नु अघि तपाईले क्लिनिकको परीक्षण र उपचार खर्चको बारेमा जान्नुहोस् र दुई वा बढी क्लिनिकसँग तुलना गर्नुहोस्। तपाईलाई उपयुक्त हुने गरी क्लिनिकको खर्च साथै सुविधाको गुणस्तरलाई ध्यानमा राखी उपचारको योजनालाई अघि बढाउनुहोस्।

९. उपचारको लागि तयारी अवस्थामा रहनुहोस्:

उपचारको पूर्व योजना बनाउँदा पहिलो कुरा त आफ्नो हालको स्वास्थ्य अवस्थाबारे थाहा पाउनुहोस् र उक्त अवस्थालाई अझै सुदृढ बनाउने उपायहरूलाई अवलम्बन गर्नुहोस्। स्वस्थ खानेकुरा खाने र नियमित व्यायाम गर्नाले पनि उपचार प्रक्रियामा कुनै बाधा उत्पन्न हुँदैन। मदिरा, धूम्रपान वा क्याफिनको लत बसेको छ भने उपचार अघि नै तपाई त्यस लतबाट मुक्त हुन आवश्यक छ। बढी तनाव भएको खण्डमा तनाव व्यवस्थापनलाई पनि जोड दिनुहोस्। तपाईको शरीर र मानसिक अवस्था स्वस्थ रहेमा मात्र बाँझोपन उपचार विधिको लम्बाई कम हुन साथै तपाईले स्वस्थ सन्तानको अपेक्षा गर्न सक्नुहुन्छ। क्लिनिकमा जाँदा तपाईले चिकित्सकलाई आफ्नो स्वास्थ्य समस्याको (जस्तै मुटु, कलेजो, फोक्सो, पेट आदिको समस्या भएमा वा पहिले भएको खण्डमा) विस्तृत जानकारी दिनुपर्छ। त्यसैले आफ्नो अन्य दीर्घ रोग भएमा उक्त रोगबाट पनि आफूलाई कसरी सहज बनाउन सक्नुहुन्छ, सम्बन्धित चिकित्सकसँग छलफल गर्नुहोस्। यसरी आफ्नो स्वास्थ्यप्रति आफैँ जिम्मेवार बनी उपचार विधिको तयारी गर्दा बाँझोपन उपचार सफलताको सम्भावनामा वृद्धि हुन्छ।

Get our Articles Right in your Inbox every week.

* indicates required