बाँझोपन - महिला हिंसाको एक प्रमुख कारक तत्त्व

2023-09-08 831

Manhila Hinsa.jpg

नेपाली  समाजमा विवाहलाई परिवार बसाउने एउटा माध्यमका रूपमा हेरिन्छ। सन्तान प्राप्ति प्राकृतिक कुरा भए तापनि यसलाई सामाजिक रूपमा अति महत्वका साथ हेर्ने गरिछ। नेपाली सामाजिक परम्परा अनुसार साधरणतया विवाह भएपछिको एक वर्ष कटेपछि सन्तान जन्मियोस् भन्ने मान्यता राखिन्छ।  यदि एक वर्ष कट्दा पनि विवाहित महिलाले गर्भधारण गरिनन् भने घरपरिवार देखि आफन्त सम्मले कुरा गर्न थालेका हुन्छन्।  ल तिनीहरूको  भएको हो ! बच्चा पनि हुँदैन कि क्या हो जस्ता कुराहरू सुनिन थाल्छ।  

कसैले आफ्नो करियरको लागि केही ढिला गरी सन्तान जन्माउने पनि योजना गरेका हुन्छन् तर परिवार, नातागोता र समाजका मान्छेहरूलाई त्यस्तो केही वास्ता हुँदैन, जसले गर्दा अनेक तानाबाना सुन्नु पर्ने हुन्छ।  त्यसमा पनि महिलाको नै धेरै कुरा हुन्छ।  

त्यसै गरी बच्चा जन्माउने योजना गरेपछि पनि गर्भधारण भएन भने घरपरिवारमा, नाता सम्बन्धमा अनि समाजमा पनि बच्चा नहुनुमा महिलालाई नै दोष दिन थालिन्छ।  पुरुष प्रधान वा पितृसत्तात्मक सोचका कारण सामान्यतया बाझोपन हुनुमा महिलालाई नै दोषारोपण गर्ने गरिन्छ, जबकि पुरुषका कारणले बाझोपन हुने पनि उत्तिकै सम्भावना रहन्छ।  

महिला हिंसाका कारणहरूको विभिन्न अध्ययनहरूले देखाए अनुसार बाझोपन पनि एक प्रमुख कारण देखिएको छ।  पितृसत्तात्मक सोचका कारण सामाजिक सन्तान नहुनुमा महिलालाई नै दोषी देखाउने र  विभिन्न किसिमका हिंसा गर्ने गरेको पाइन्छ।  सम्बन्ध विच्छेदको धम्की, बहुविवाहको दबाब जस्ता कुराहरूले निसन्तान महिला विक्षिप्त भएका हुन्छन्।  बाझोपन भएकी महिलालाई अलच्छिन, देख्यो भने साइत पर्दैन, सुभ कार्यहरूमा जान हुँदैन जस्ता सामाजिक बहिष्करण गरिन्छ जसले गर्दा निसन्तान महिलालाई समाजमा हीनताबोध महसुस हुने, सामाजिक हिंसा हुने हुन्छ। जबकि त्यही समस्या बाट गुज्रिएका पुरुष लाई यस्ता खालका मान्यताहरू केही हुँदैनन्।  

त्यसै गरी परिवारमा पहिला प्रिय भएकी बुहारी निसन्तान हुने बित्तिकै कुलको निरन्तरता दिन नसक्ने कुलंकारको उपमा दिन थाल्छन्। पहिला कति माया प्रेम भएका श्रीमान् समेत अब साना साना कुरामा गालीगलौज गर्ने, जति बेला पनि त्यस्तै निःसन्तानको कमजोरीलाई जोडेर दुर्व्यवहार गर्ने जस्ता घटनाहरू हुन्छन्। र परिवारमा श्रीमानलाई अर्को विवाह गर्ने सम्मका कुरा चल्न थाल्छन्।  यसलाई पन्छाउन पाए छोराको अर्को विवाह गर्न हुन्थ्यो भन्ने कुराहरू हुन्छन्। जब कि पुरुषको पनि कमजोरी हो कि भनेर उपचार को कुरा गरिँदैन, पुरुषको कमजोरीको भागिदार पनि महिला लाई नै भिराइन्छ।  जसका कारण महिलाहरू माथि हिंसा  बढिरहेको छ।  यस्ता हिंसाले गर्दा निसन्तान महिलाहरूमा  गम्भीर मानसिक समस्याहरू जस्तै डिप्रेसन, चिन्ता, तनाव जस्ता समस्याहरू देखिएका छन्।  त्यस्ता मानसिक समस्याले महिलाहरूमा एक्लोपना महसुस हुने, आत्महत्याको सोच आउने गरेको पाइएको छ। गाउँघरका महिलाहरू घरायसी काम धन्दा, खेतीपाती बस्तुभाउको काम गर्दा उनीहरूलाई कामदार, खेतालाको रूपमा हेरिन्छ। बच्चा पाउन परेको छैन यो त केटा मान्छे जस्तै बलियी छ जति काम गरे पनि थाक्दिन भन्ने गर्छन्। तर उनीहरूको हातमा पैसा हुँदैन, उपचार गर्ने ठाउँ थाहा हुँदैन।  घरमा परिवारले, श्रीमान् ले जति हिंसा गरे पनि सहेर बस्नु बाहेक अरू उपाय हुँदैन।  

विभिन्न विकासका कार्यक्रमहरूले पनि भिन्न किसिमका समूहहरू बनाएर उनीहरूलाई आर्थिक तथा सामाजिक सशक्तीकरणका कार्यक्रम गरिरहेका हुन्छन् तर बाझोपन भएका महिलाहरू समाजमा कति अपहेलित भएका हुन्छन्, कति बहिष्करणमा परेका हुन्छन्।  उनीहरूको समस्या बोलिदिने कोही हुँदैन, मनमा कति पिरका भारी बोकेर उनीहरू बसेका हुन्छन्। सरकारको तर्फबाट गाउँपालिका र नगरपालिकाहरूले गर्ने कार्यक्रम होस् वा अन्य गैरसरकारी सङ्घ संस्थाहरूले गर्ने कार्यक्रमले समेत यस्ता विषयलाई वास्ता गरेको देखिएको छैन।  यसले गर्दा निसन्तान महिलाहरूको आवाज बाहिर आउन सकेको छैन।  त्यस कारण उनीहरूले भाग्यलाई दोष दिएर पिल्सिएर जीवन व्यथित गरिरहेका हुन्छन्। 

सन्तान जन्माउने महिलाहरू नै निसन्तान महिलाहरूलाई हिंसा गरिरहेका हुन्छन्। सामाजिक धार्मिक सुभ कार्यहरूमा बहिष्करण गर्ने, आफू गर्भवती हुँदाका, प्रसवका, सानो बच्चाका किस्साहरू सुनाएर उनीहरूलाई मानसिक तनाव दिने काम पनि नजानिँदो किसिमले भइराखेका हुन्छन्।   

नेपाली समाजमा बाँझोपनाको समस्या महिलाको मात्र समस्या हो, पुरुषको होइन भन्ने गलत मान्यता स्थापित छ।  त्यस कारण स्वास्थ्य जाँचमा समेत पुरुषले उदासीनता देखाउने गरेका हुन्छन्। यसलाई उपचार गर्न भन्दा त अर्को विवाह गर्न सस्तो र सजिलो हुन्छ भन्ने जस्ता कुराहरू आउने गर्छन्।  तर विभिन्न अनुसन्धान बाट पुरुषहरूको वीर्यमा कमीका कारण बाँझोपनको समस्या भएको देखिएको छ।  बाँझोपनको उपचारको विभिन्न विधिहरू उपलब्ध भए पनि यसको उपचार जहाँतहीँ पर्याप्त मात्रामा नहुनु, स्वास्थ्य संस्थामा सही सल्लाह नपाउनुको कारण यो उपचार सबै सर्वसाधारणले उपभोग गर्न पाएका छैनन्। नेपालमा बाँझोपनको समस्या भएका कति दम्पती छन् भन्ने तथ्याङ्क पनि छैन र यसको संवेदनशीलता माथि कसैको चासो पनि देखिँदैन। बाँझोपनको कारणहरूको बारेमा पर्याप्त जनचेतना पनि छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत बाँझोपनको समस्या उपचार गर्ने र समस्या समाधानमा त्यति महत्त्व दिएको पाइँदैन।  

अहिलेको अवस्थामा पनि बाँझोपनको पारिवारिक, सामाजिक आयामको महिलाहरूले मात्र बोझ बोक्न परिरहेको परिप्रेक्ष्यमा यो विषयलाई सबै सरोकारवालाहरूले गम्भीरताका साथ लिन पर्ने आवश्यकता छ।  

 
समग्रमा भन्नु पर्दा नेपालमा बाँझोपनको कारणले महिलाहरू परिवारमा र समाजमा हिंसा भोग्न बाध्य भइराखेका छन्। यसमा महिलामाथि दोष थोपर्नु भन्दा पनि परिवार र समाजले नि:सन्तान दम्पतीलाई सही सल्लाह दिने र सही उपचारतर्फ हौसला प्रदान गर्न तर्फ जोड दिनुपर्छ। दम्पतीको कुरालाई सुनिदिनुपर्छ अनि उनीहरूलाई अन्य तानाबाना सुनाउनुभन्दा, सही दिशातर्फ उन्मुख गराउनुपर्छ। यदि महिलाले नि:सन्तान अवस्थाकै कारण घरेलु हिंसाजस्तो समस्या भोग्नुपरे, त्यसलाई सहेर बस्नुभन्दा कानुनी सहायताको लागि पनि जोड दिनुपर्छ। एक शारीरिक अवस्थाका कारण, समाज र परिवारमा सम्मानित जीवन बाँच्ने अधिकार महिलाले गुमाउनु हुँदैन। अन्ततः बाँझोपनलाई एक जना महिलाको मात्रै समस्याको रूपमा नहेरेर सम्पूर्ण समाजको समस्या हो भन्ने सोचका साथ जिम्मेवारीपूर्वक यसको सम्बोधन र समाधान गर्नुपर्छ। 

Get our Articles Right in your Inbox every week.

* indicates required