क्यान्सरको उपचारसँगै हुने प्रजननका चुनौति

2024-04-19 2338

Breeding challenges wi...

क्यन्सारको नामबाट हामी सबै चिरपरिचित छौं तर पनि यस रोगबाट पीडित हुने मानिसहरुको संख्या हरेक वर्ष बढ्दो क्रममै छ । एक तथ्यांकका अनुसार हरेक वर्ष नेपालमा क्यान्सरबाट पीडित ३०००० नयाँ विरामीहरु भेटिन्छन्, जसमध्ये ५५ प्रतिशत महिला छन् भने ४५ प्रतिशत पुरुषहरु छन् । उक्त तथ्यांककै अनुसार नेपालमा देखिएका ४ प्रमुख क्यान्सरहरु फोक्सो, पाठेघर, स्तन र आन्द्रा सम्बन्धि क्यन्सार हुन् ।

क्यान्सर भनेको के हो त ?

क्यान्सर एउटा दीर्घ रोग हो जुन शरीरको कुनै पनि अंगमा लाग्न सक्छ । कुनै पनि अङ्गका कोषहरू असामान्य र अनियन्त्रित रूपले वृद्धि भएर समस्या निम्त्याउँछ भने त्यसलाई क्यान्सर भनिन्छ । एक अङ्गमा क्यान्सर लागेपछि शरीरका अन्य अङ्गमा पनि सर्न सक्छ । जस्तै, स्तनमा क्यान्सर लागेर फोक्सो, हड्डी र मस्तिष्कमा सर्न सक्छ । तर, क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने सरुवा रोग भने होइन ।

खराब जीवनशैली र वाह्य वातावरणीय प्रतिकुलता नै क्यान्सरका प्रमुख कारक हुन् । असन्तुलित जीवनशैली, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, जंकफुड, प्रदुषण, धुम्रपान, मध्यपान तथा वंशाणुगत कारणहरू यसका मुख्य कारणहरु हुन् ।

क्यान्सर र प्रजननको अन्तरसम्बन्ध

प्राय: अवस्थामा क्यान्सर र प्रजननको सिधा सम्बन्ध नरहे पनि यसलाई निर्मूल पार्न गरिने विभिन्न उपचार विधिले प्रजननमा असर पुग्ने देखिएको छ । खासगरी क्यान्सरको उपचार गर्न शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी, हर्मोनथेरापी जस्ता विधिहरुको प्रयोग गरिन्छ जसले कहिलेकाहिँ अस्थायी रुपमा त कहिले स्थायी रुपमै प्रजनन क्षमतामा हानी पुर्याउँछ। प्रजननमा कति हानी पुग्छ भन्ने कुरा यकिनका साथ भन्न सकिन्न किनभने यो  विरामीको उमेर, प्रयोग गरिएको उपचार विधि वा औषधि, त्यसको मात्रा, क्यान्सरको अवस्था जस्ता विभिन्न कुराहरुमा निर्भर गर्छ ।

प्रजनन क्षमतामा हानी पुग्ने अवास्थाहरु

पुरुष सम्बन्धि अवस्था 

  • पुरुषका प्रजनन अंग सम्बन्धि कुनै शल्यक्रिया गरिएको छ भने त्यसले लिंग उत्तेजित हुने समस्या, स्खलन सम्बन्धि समस्या वा विर्य निस्किने सम्बन्धि समस्या ल्याउन सक्छ जसले गर्दा पुरुषले सही रुपमा महिलाको योनीमा वीर्य प्रवाह गर्न सक्दैन ।
  • रेडियोथेरापीले र केहि केमोथेरापीका कारण स्वस्थ शुक्राणुको निर्माण हुन सक्दैन । कसैकसैमा स्वस्थ शुक्राणु निर्माणको क्षमता पुनः स्थापित हुने भएपनि सबैमा यस्तो सम्भव हुन्न र कस्तो मानिसमा यो क्षमता फर्किएर आउँछ, किटानका साथ भन्न असम्भव छ ।
  • मस्तिष्कका कुनै भागमा गरिएको शल्यक्रिया वा रेडियोथेरापीका कारण पिटुटरी ग्रन्थिले शुक्रकिट उत्पादनको भूमिका राम्ररी निर्वाह गर्न सक्दैन ।

महिला सम्बन्धि अवस्था

  • सन्तान उत्पादन सम्बधि कुनै अंग शल्यक्रिया गरी निकाल्नु परेको अवस्थामा (जस्तै पाठेघर झिकिएको अवस्था)
  • तल्लो पेट तिरको भागमा रेडियोथेरापी गर्नाले वा केमोथेरापीका कारण डिम्बहरुमा असर पर्न जान्छ र कसै-कसैमा महिनावारी पनि सुक्न सक्छ । कुनै महिलामा महिनावारी पुनः सुचारु भएपनि धेरैमा महिनावारी नहुन सक्छ, समय अगावै महिनावारी सुक्न सक्छ ।
  • तल्लो पेटको हिस्सामा गरिएको रेडिएसनका कारण पाठेघरमा पनि असर पुगेको हुन सक्छ जसले गर्दा, पाठेघरले सामान्य अवस्थामा जसरी काम गर्न सक्दैन र गर्भ तुहिने, समय अगावै बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने वा अस्वस्थ बच्चा जन्मिने जस्ता समस्या आउन सक्छन् ।
  • मस्तिष्कका कुनै भागमा गरिएको शल्यक्रिया वा रेडियोथेरापीका कारण पिटुटरी ग्रन्थिका रसायनले नियन्त्रण गर्ने मासिक चक्र वा महिनावारीमा असर पुग्न सक्छ ।

क्यान्सर लागेपछि सन्तान प्राप्त गर्न के-के कुरा बुझ्नु पर्छ त?

क्यान्सर लाग्ने उमेर वा अंगको कुनै निर्धारण हुँदैन । यो जसलाई पनि र जुन उमेरमा पनि लाग्न सक्छ । यदि कसैलाई सन्तान प्राप्ति अगावै क्यान्सर रहेको ठहरिएमा के गर्ने त ? सबैलाई सहारा वा सन्तानको इच्छा हुन्छ त्यसैले उक्त अवस्थामा निम्न कुराहरुमा ध्यान दिनु उपयुक्त हुन्छ ।

  • मलाई लागेको क्यान्सरको उपचारले मेरो प्रजननमा त असर पुर्याउँदैन ?
  • कुनै असर परेमा सन्तान प्राप्त गर्ने विकल्प के हुन ?
  • के IVF प्रक्रिया अन्तर्गत निकालिने डिम्बको लागि चाहिने औषधिको प्रयोग क्यान्सरका बेला सुरक्षित हुन्छ त ?
  • फर्टिलिटी फ्रीजिंग (भविष्यमा प्रयोग गर्ने उद्देश्यले चिसोमा जमाएर राखिएको वीर्य, डिम्ब, बलास्टोसिस्ट, आदि) को विकल्प कतिको सही छ ?
  • फर्टिलिटी फ्रीजिंग कहिले गराउने ? (भविष्यमा वीर्य वा डिम्ब उत्पादन हुन नसक्ने अवस्थामा)
  • यी सबै कुराको निर्क्यौल आफैंले गर्नुभन्दा कुशल स्वास्थ्यकर्मीको निगरानीमा र आफ्नो क्यान्सर उपचारमा संलग्न चिकित्सकको सल्लाहमा गर्नु नै उचित हुन्छ ।

क्यान्सर निको भएपछि सन्तान प्राप्त गर्न अपनाउन सकिने उपायहरु

क्यान्सर निको हुँदा आफ्नो कुनै पनि प्रजनन अंगमा हानी नपुगेको अवस्था भएमा केहि समयका लागि प्राकृतिक रुपमा गर्भधारणको प्रयासमा लग्न सकिन्छ तर उमेर धेरै छ भने वा आफ्नो प्रजननमा कुनै शंका छ भने अविलम्ब निम्न उपायहरु अपनाउन सकिन्छ ।

  • फ्रीजिंग विधिको IVF: यस अन्तर्गत आफूले फ्रीज गरेर राखेको डिम्ब वा बलास्टोसिस्टको प्रयोग गरेर IVF विधिद्वारा गर्भधारण गर्ने । यसमा पाठेघर स्वस्थ हुनु अति आवश्यक हुन्छ ।
  • डोनर ट्रीटमेन्ट: यस अन्तर्गत महिलाको डिम्बमा मात्र समस्या छ भने उक्त महिलाले डोनरबाट डिम्ब प्राप्त गरेर आफ्नो श्रीमानको शुक्रकिटसँग निषेचित गराएर IVF विधिद्वारा सन्तान प्राप्त गर्न सक्छन् तर यदि महिला स्वस्थ छिन् र पुरुषको शुक्रकिटमा मात्र समस्या छ भने डोनोरको शुक्रकिट द्वारा IUI को मद्दतले सन्तान प्राप्त हुन सक्छ ।
  • सरोगेसी: नेपालमा यसको कानुनी मान्यता नरहेपनि पाठेघर झिकिएको महिलाको हकमा सन्तान प्राप्तिको यो एउटा उत्कृष्ट विकल्प हो । यस अन्तर्गत भ्रुणलाई कुनै स्वयंसेवक महिलाको पाठेघरमा स्थापित गराइन्छ र उसबाट बच्चा प्राप्त गरिन्छ ।

यस बाहेक कति मानिसहरु सन्तान कोखलिने प्रक्रियालाई पनि सही मान्छन् र उक्त उपायको अवलम्बन गर्छन । 
क्यान्सर फैलिदै जाने भएको कारण यसको परिणाम भयावह नै छ तर सही समयमै उचित उपचार गरे यो निको हुनसक्छ । क्यान्सर लाग्दैमा तपाईले  आफ्नो सन्तान प्राप्तिको आशा मार्नु पर्दैन । एकपटक वात्सल्य वा अरु भरपर्दो स्वस्थकर्मीहरु बाट सल्लाह-सुझाव अवश्य लिनुहोस् ।

Get our Articles Right in your Inbox every week.

* indicates required